काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी सरकारी कर्मचारीको तलब तथा सेवा–सुविधा बढाएको छ । शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको घोषणा गरेका हुन् ।
सरकारले कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली लागू गर्दै नयाँ तलबमानको १० प्रतिशत बराबर मासिक प्रोत्साहन भत्ता पनि दिने जनाएको छ । नयाँ व्यवस्थापछि कर्मचारीको तलब औसत २१ प्रतिशतसम्म बढ्ने बताइएको छ ।
सरकारका अनुसार अब सरकारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक ४० हजार रुपैयाँभन्दा माथि पुग्नेछ भने उच्च तहका कर्मचारीको तलब एक लाख रुपैयाँ नाघ्नेछ । सेवा प्रवाहलाई प्रभावकारी र नतिजामुखी बनाउन नयाँ पारिश्रमिक संरचना ल्याइएको सरकारको दाबी छ ।



















