प्रायजसो

म घामभन्दा अगावै उठ्छु

अनि दिनहुँ हेर्छु

मनका पात पात

शीतका बुँदहरू ।


पानीका नीला बुँदहरूमा

म अक्षर देख्छु,

कलम देख्छु,कविता देख्छु ।


कोक्रोमा खेल्दै गरेको नाबालक जून

निधारबाट कर्म बगाउँदै गरेकी सानीमाया

धरतीका अजम्बरी योगमाया, छायादेवी पहाडहरू

भिरालो सडकबीच

हातैले मरीमरी रिक्सा घिस्याउने मिनि चालक

पहिरोको टिका भई बसेको त्रसित गाउँ

अलिपर हिरोसिमा, नागासाकी टाँगिएका साइनबोर्डहरु

आकाशमा उड्दै गरेका एनोला बक्सर

दाउरा थप्दै आगो फुक्दै गरेका

कर्णेल टिवेट्स, मेजर न्याल्र्स स्विनी

युग चराउँदै गरेका कलिला केटाकेटी

खेलमैदान खेलाडीहरू

छद्मभेषी रेफ्रीहरू

लिटिल ब्वाई, फ्याटम्यान

छाया र छविकार सबै सबै देख्छु ।


हेर्नलाई एउटा सृष्टि हतार छ मलाई

घामका बहादुर फौज यहाँ आउनुअघि

पढिसक्नु छ मैले किताब ।


पल्टाउँदै जाँदा मैले शीतको सहरमा

अझ भव्य मेला देखेँ

चर्च, गुम्बा, मन्दिर, मस्जिद र मिलेर बसेका देवता

दयालु भक्त, समावेशी फूल, इमानदार थाली

सौम्य धूप

सबै सबै देखेँ

मुक्त चरन, इमानी गाईवस्तु

एउटै आँगनमा गुन्जेका सँगिनी, बालन, घाटु र च्याब्रुङ

न जातको नाममा लडेका

न धर्मको नाममा जुधेका, न त राज्यको नाममा बखेडा

एउटै उज्यालोको गीत गाएर उडिरहेछन् चराहरू

कुनै चुलामा देखिएन साम्प्रदायिकताको आगो

कुनै कुलोमा देखिएन सभ्यताविरोधी पानी

फूलले फूललाई कहिल्यै बाटो छेकेन


आहा, यो पो त राज्य 

मेरो माटोमा मलाई

यस्तै मिलापी छिमेकी र

इमानदार मान्छे चाहिएको छ ।

 - तारा पराजुली

बेलबारि