२०२५ को भैरव पुरस्कार कृष्ण प्रधानलाई, हरिप्रसाद शर्मालाई वाङमय तथा विवश पोखरेललाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०२५ को भैरव पुरस्कार भारत—सिलगढी निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपियाँ रहेको छ । 


भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गर्न लागिएको हो । त्यस्तै १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङमय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने गुठीले जनाएको छ । ५१ हजार १ सय ११ रुपियाँ राशीको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्धय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहेका चयन समिति  गठन गरेको थियो । आउँदो असोज तीन गते १९ सेप्टेम्बर २०२५ का दिन राजधानीको गोकर्णेश्वर—५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिनेछ । सोही दिन गुठीको साधारण सभा पनि आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।