हाँस्यो हेर निलो गगन दशैँ आयो अब 

चारैतिर चम्क्यो चमन दशैँ आयो अब।


सुवास  छर्दै  चारैतिर   फूलहरू  फुले

लह लह खेतैबारी धानका बाला झुले

दुनियाँ भो मस्त मगन दशैँ आयो अब

चारैतिर चम्क्यो चमन दशैँ आयो अब।


बज्न थाले गाउँघरमा मालश्रीका धुन

पर्व स्वागत गर्छन्  हेर तारा अनि जून 

थाल्यो मन्दमन्द पवन दशैँ आयो अब 

चारैतिर चम्क्यो चमन दशैँ आयो अब।


मच्चिएर लिङ्गेपिङमा झुलेका छन् हेर

ठाँटिएर दुनियाँ सारा खुलेका छन् हेर

शक्ति पीठमा गरे हवन दशैँ आयो अब

चारैतिर चम्क्यो चमन दशैँ आयो अब।


नवशिला

बेलबारी - २, नवदेव मार्ग, लालभित्ती, मोरङ।