विराटनगर।उदालगढ १५ नोभेम्बर २०२५, उदालगढ़ (आसाम) पूर्वोत्तर भारतको आसाम, उदालगढ़मा भाषा सेनानी तारापति उपाध्यायको स्मृतिमा इन्द्रेणी प्रकाशन, आसामले आयोजना गरेको दुईदिने ‘इन्द्रेणी राष्ट्रिय कविता समारोह’ सम्पन्न भएको छ। कार्यक्रममा नेपालसहित भारतका विभिन्न राज्य—मिजोराम, नागाल्याण्ड, शिलाङ, सिक्किम, कोलकाता, डुवर्स, दार्जिलिङ, कालेबुङ र आसामका वरिष्ठ साहित्यकार, कवि तथा लेखकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
इन्द्रेणी प्रकाशनको विशेष निमन्त्रणामा समारोहमा सहभागी हुन पाउनु आफ्नै किसिमको अहोभाग्य भएको सहभागीहरूले बताएका छन्। उनीहरूका अनुसार कतिपय अवस्थामा निमन्त्रणा, इच्छा र चाहना हुँदाहुँदै पनि परिस्थितिवश कुनै कार्यक्रममा सहभागी हुन कठिन हुने भएकाले यो उपस्थिति विशेष अनुभव बनेको बताएका छन् ।
भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा समृद्धिका लागि गरिएको यस ऐतिहासिक राष्ट्रिय स्तरको कार्यक्रममा नवोदित कलमकारहरूको उत्साह र जाँगरले कार्यक्रमलाई झनै जीवन्त बनाएको थियो। भारतीय भूभागमा नेपाली भाषा–साहित्यको उन्नतिमा आसामले अग्रणी भूमिका खेलेको अनुभूति सहभागी गीता श्री शर्माले बताएकी छन्।
समारोहमार्फत धेरैजना परिचित तथा अपरिचित साहित्यकारहरूसँग प्रत्यक्ष भेटघाट हुने दुर्लभ अवसर मिलेको सहभागीहरू बताउँछन्।
महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्ने इन्द्रेणी प्रकाशन, आसाम तथा आयोजकहरूको सम्पूर्ण टोलीप्रति सहभागीहरूले हार्दिक आभार तथा अभिनन्दन सहित व्यक्त गरेका छन्।























