म तनको
कालो छु
तर मनको
उज्यालो छु
तिमी स्फटिक
गोरो छौ
तर मनको
असाध्यै कालो छौ
तिमीले
आफ्नी सालीको
किताबको भूमिका लेख्दा
झुर कवितालाई
´ यत्तिको कविता
नेपाली साहित्यमा
लेखिएकै छैनन् ` भन्यौ
तारिफ गर्यौ
तर मेरो गद्य सङ्ग्रहको
भूमिकामा तिमीले
´छ्न्द नमिलेको` भनेर
दाग लगायौ
आफ्नो हातमा भएको पुरस्कार
सालीलाई दिलायौ
र मलाई होच्यायौ
तिमी हेर्दा गोरो
उज्यालो
तर मनको असाध्यै
कालो मान्छे!
तिमी निर्णायक भएको
कविता प्रतियोगितामा
तिमीले
मेरो अब्बल
कवितालाई
तल पारेर
आफ्नो पार्टीको
मौसमी कविलाई
जसले
"वर्षमा एउटा मात्र
कविता लेख्छ
एउटा चोरेको कविता
पर्समा बोकेर
जहाँ जान्छ
त्यही वाचन गर्छ"
त्यस्तालाई
पुरस्कार दिलायौ
तिमी मनको
कालो कवि !
तिम्रो नजरमा
अनुहार मिलेका
कर.. कर बोल्ने
छेउमा टाँस्सिने
फाहा सुँघाउने
नमस्ते टक्राउने
बुढीकन्या
श्रीमान् विदेश भएका
फुर्सदिला
मिसकल गर्ने
मोटरसाइकलमा बसेर
जहाँ लग्यो
त्यहीँ जाने
क्याफेमा बसेर
घण्टौँ गफ गर्ने
कवयित्री राम्रा
म अध्ययन गर्ने
पढ्ने
लेख्ने
साधना गर्ने
परैबाट नमस्ते नगर्ने
मिसकल नगर्ने
"कतै घुम्न जाऔं" नभन्ने
छेउमा न टास्सिने
नराम्री !
काम नलाग्ने!
तिमी हेर्दा जति राम्रा
बानीबेहोरा
उत्ति नै नराम्रा
निख्खर काला!
तिमीभन्दा त
पानी वर्षाउने
कालो बादल राम्रो
मकै भुट्ने
कालो हाँडी राम्रो
सन्देश ल्याउने
कालो काग राम्रो
मासु परेको
धराने कालो सुगुर राम्रो
दुध दिने
कालो भैँसी राम्रो
नास परेको
निको पार्ने
कालो हलेदो राम्रो
स्वादिलो तरकारी पकाउने
कालो कराई राम्रो
सुन्दर कविता
गजल
चारु लेख्ने
कालो मसी राम्रो
पुस एक गते
कालो दिवस राम्रो
फटाहा!
तिमी मान्छे
तनको राम्रो
मनको कालो!!
देवी पन्थी
विराटनगर



















