विराटनगर ।पोखरिया माध्यमिक विद्यालयको आयोजनामा महानगरस्तरीय अन्तरविद्यालय हाजिरजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाको समन्वयमा आयोजित उक्त प्रतियोगिताले आधारभूत तहका विद्यार्थीहरूको सिर्जनशीलता र बौद्धिक क्षमतालाई उजागर गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
आधारभूत तह कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूबीच सञ्चालन गरिएको हाजिरजवाफ प्रतियोगितामा महानगर क्षेत्रका २९ विद्यालयको सहभागिता रहेको थियो। त्यस्तै, कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू सहभागी चित्रकला प्रतियोगितामा ४० विद्यालयले प्रतिस्पर्धा गरेका थिए। दुवै विधामा उल्लेख्य सहभागिताले सामुदायिक तथा संस्थागत विद्यालयबीच शैक्षिक प्रतिस्पर्धा र सहकार्यको वातावरण सुदृढ भएको संकेत गरेको छ।
चित्रकला प्रतियोगितामा आयोजक पोखरिया माविले प्रथम स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। दोस्रो स्थान आदर्श माध्यमिक विद्यालयले प्राप्त गर्दा बाल माध्यमिक विद्यालय रानी तृतीय बनेको थियो। त्यसैगरी महेन्द्र रात्री माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार हात पारेको आयोजकले जानकारी दिए।
विजेता विद्यालयहरूलाई क्रमशः ८ हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धा, रचनात्मक सोच तथा प्रस्तुतीकरण क्षमताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
पुरस्कार वितरण कार्यक्रममा महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुंगेल, अधिकृत कृष्ण भट्टराई तथा आयोजक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलगायतले विजेता विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेका थिए। कार्यक्रममा वक्ताहरूले अतिरिक्त क्रियाकलापले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
आयोजकका अनुसार महानगरस्तरीय प्रतियोगितामार्फत विद्यालयहरूबीच अनुभव आदानप्रदान, सहकार्य र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने लक्ष्य राखिएको थियो। शैक्षिक गुणस्तर अभिवृद्धिसँगै सिर्जनात्मक र बौद्धिक क्षमताको विकासमा यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास गरिएको छ।























