विराटनगर।महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका निवर्तमान सचिव सनिम ठकुरीसहितका दर्जनौं नेता आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।
अनेरास्ववियुले आयोजना गरेको एक कार्यक्रमका बिच युवाहरु एमाले प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई मोरङ– ६ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार विनोद ढकाल तथा नेकपा एमालेका नेता लालबाबु पण्डितलगायतले टिका तथा ब्याच लगाएर स्वागत गरेका थिए। पार्टी प्रवेशको नेतृत्व लिएका सनिम ठकुरीले क्षेत्रको विकास र युवा विद्यार्थीको भावना बुझ्ने नेता विनोद ढकाल नै भएको बताएका छन्। उनले एमाले समाजका सबै वर्गका जनताको हित गर्ने पार्टी रहेको समेत बताए।
नव प्रवेशीलाई स्वागत गर्दै उम्मेदवार ढकालले आफूले अघि सारेका प्रतिवद्धतालाई घर घर सम्म पुर्याएर नेकपा एमालेले खेलेको भूमिका र खेल्ने भूमिकाको विषयमा अवगत गराउन आग्रह गरे। उनले विगतका अधुरा काम पूरा गर्नेदेखि लिएर महेन्द्र मोरङ क्याम्पसको मुहार फेर्न समेत पहलकदमी लिने बताए । उनले युवाहरु माझ आफू सधैं नजिक रहेको भन्दै हरेक दुःसुखमा आफूलाई सम्झन समेत आग्रह गरे ।
एमाले नेता लालबाबु पण्डितले युवा पुस्ता बरालिने नभई लगनशिल हुनुपर्ने बताएका थिए।




















