विराटनगर । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितिको तेस्रो अधिवेशनबाट वीरेन्द्रकुमार साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। विराटनगरस्थित रुबिज होटल, मुनालपथमा सम्पन्न अधिवेशनले संगठनलाई थप सशक्त र व्यवस्थित बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुङ्गाना, महासचिवमा विकल श्रेष्ठ, सचिवमा तुलसीप्रसाद निरौला तथा कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन्। सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेखा पौडेल, पारस मण्डल, सुनिल यादव, कविता घिमिरे, निशान्त कँडेल र गोपाल पौडेल रहेका छन् भने एक सदस्य पछि मनोनित गरिने जनाइएको छ।
यसअघि उद्घाटन सत्र सञ्जु राई को सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नागेश कोइराला ले चलचित्र क्षेत्रको विकासमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय तहबाट आवश्यक सहकार्य रहने बताएका छन् ।
कार्यक्रममा समिर बलामी ले जिम्मेवार र निष्पक्ष पत्रकारितामार्फत चलचित्र उद्योगलाई सुदृढ बनाउन सकिने धारणा व्यक्त गरे। साथै नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्कालगायत विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिएका थिए।
नवनिर्वाचित अध्यक्ष साहले संगठनलाई व्यावसायिक र प्रभावकारी बनाउँदै चलचित्र पत्रकारहरूको हकहित संरक्षण तथा प्रदेशको चलचित्र क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।




















