काठमाडौं ।पूँजी बजारमा संगठित चलखेलको आशंकामा उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिएको हो ।
सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा गोल्छालाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनीमाथि धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत बजार प्रभावित पार्ने, जालसाजीपूर्ण कारोबार गर्ने लगायतका कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
उक्त प्रकरणमा भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचानसमेत मुख्य योजनाकारको रूपमा रहेका छन् । उनीहरूविरुद्ध धितोपत्र बजारमा प्रभाव पार्ने र जालसाजीपूर्ण कारोबार गरेको निष्कर्ष बोर्डले निकालेको छ । भट्ट यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा छन् भने चाचान फरार रहेको जनाइएको छ ।
यसै प्रकरणमा सहयोगी भूमिकामा हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन क्यापसर्ब लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड र एचएलआई लार्ज क्याप फन्डसहित केही व्यक्ति र संस्थाको संलग्नता रहेको छ ।
त्यसैगरी रोहित गुप्ता र गोल्छासमेतको संलग्नता देखिएको प्रतिवेदनमा उल्लेख छ । साथै शुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, ऋषिराज मोर र राजबहादुर शाहले नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने कार्यमा संलग्नता देखिएको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा बोर्डले सम्बन्धित व्यक्ति तथा संस्थामाथि थप छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सीआईबीले काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर गोल्छालाई नियन्त्रणमा लिएको हो ।



















