काठमाडौं ।काठमाडौं उपत्यकामा अतिक्रमित सुकुमवासी बस्ती हटाउने सरकारी प्रक्रिया तीव्र बनेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकायले बिहीबार साँझदेखि विभिन्न बस्ती क्षेत्रमा माइकिङ गर्दै निर्धारित समयभित्र स्थान खाली गर्न अन्तिम चेतावनी दिएका छन् ।

प्रशासन स्रोतका अनुसार थापाथलीसहित उपत्यकाका कम्तीमा चार स्थानमा रहेका सुकुमवासी बस्तीलाई शुक्रबार साँझ ७ बजेसम्म खाली गर्न निर्देशन दिइएको छ । तोकिएको समयसीमा उल्लंघन भएमा शनिबारदेखि अतिक्रमित संरचनामा डोजर चलाइने तयारी गरिएको छ ।

सरकारको पछिल्लो निर्णयसँगै यो कदम अघि बढाइएको हो । बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै सुकुमवासी बस्ती हटाउने विषयलाई प्राथमिकतामा राख्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बस्ती हटाउने निर्णय गरेको हो ।

उक्त बैठकमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलसहित सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । निर्णयपछि प्रहरी परिचालन बढाउँदै प्रभावित क्षेत्रमा जनचेतनामूलक माइकिङ सुरु गरिएकोथियो।

प्रशासनले पहिलो चरणमा सीमित स्थानबाट बस्ती व्यवस्थापन सुरु गर्ने र त्यसपछि अन्य अतिक्रमित क्षेत्रहरूमा समेत क्रमशः कारबाही अघि बढाउने संकेत दिएको छ ।