,मनदेखि मनसम्म’ कविता सङ्ग्रह सार्वजनिक
- जेठ ५, २०८३
- ३८८ पटक पढिएको
बेलबारी। मोरङ ,प्रगतिशील लेखक तथा सांस्कृतिककर्मी यज्ञराज सुवेदी ‘सुसेली’को नवीनतम कृति ‘मनदेखि मनसम्म’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । बेलबारीमा आयोजित कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले मोमबत्ती बालेर कृतिको लोकार्पण गरेका थिए।
कार्यक्रममा बोल्दै डा. क्षेत्रीले प्रगतिशील साहित्यिक अभियानलाई अझ सक्रिय बनाउन युवापुस्तालाई वैचारिक रूपमा संगठित गर्नुपर्ने आवश्यकता औंल्याए। समालोचक डा. दीपक न्यौपानेले कृतिमा सरलता र भावनात्मक गहिराइ रहेको उल्लेख गर्दै केही कमजोरी भए पनि पुस्तक पठनीय रहेको बताए।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले स्रष्टा सुवेदीको व्यक्तित्वमाथि चर्चा गरेका थिए। कृतिकार सुवेदीले आफ्ना केही कविता वाचन गर्दै लेखन यात्राका अनुभव पनि सुनाए।
कार्यक्रममा विभिन्न साहित्यकारहरूले कृतिभित्रका कविता वाचन गरेका थिए भने सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो। कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्रा. डा. हरिहर भण्डारीलगायतले साहित्य, राजनीति र समाजका विविध पक्षमा धारणा राखेका थिए।
सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा–१२ मा सम्पन्न कार्यक्रममा साहित्यकार, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
‘मनदेखि मनसम्म’ कविता सङ्ग्रहमा ५३ वटा कविता समावेश छन्। यसअघि सुवेदीका ‘रमेश खै’, ‘यिनैको सम्झनामा’, ‘गोपाल बाबा’ र ‘जिन्दावाद’ लगायत कृतिहरू प्रकाशित भइसकेका छन्





















