बेलबारी। मोरङ , इलाम, झापा, मोरङ र सुनसरीका प्रगतिशील लेखक तथा स्रष्टाहरूले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि सरकारले गरेको व्यवहारविरुद्ध सिर्जनात्मक विरोध जनाएका छन्।

प्रगतिशील लेखक सङ्घ नेपाल, कोशी प्रदेश समितिका अध्यक्ष बिन्दु दाहाल ‘मूकदर्शक’को अध्यक्षता तथा केन्द्रीय अध्यक्ष डा. देवी दुलाल क्षेत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टाहरूले कविता तथा रचना वाचन गर्दै विरोध प्रकट गरेका थिए।

कार्यक्रममा डा. देवी दुलाल क्षेत्री, इरान राई, एकराज भट्टराई, खेम नेपाली, तिला लेकाली, बाबुराम पोखरेल, दीप मग्राती, भीम कोइराला, भवानीप्रसाद पोखरेल, शैलेन्द्र घिमिरे, विमला पोखरेल, कृष्ण नेपाललगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. क्षेत्रीले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको घरबार भत्काएर सरकारले अमानवीय व्यवहार गरेको आरोप लगाए। उनले देशभरका ७ प्रदेश, ६४ जिल्ला र १३५ पालिकामा प्रगतिशील स्रष्टाहरूले सडक साहित्य गोष्ठीमार्फत विरोध गरिरहेको जानकारी दिए।

उनले सुकुम्बासीलाई स्थानान्तरण गर्नुपरे पहिले गाँस, बास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीको सुनिश्चितता गर्नुपर्ने धारणा राखे।

सुन्दरहरैँचा–१२ स्थित सुकुना बहुमुखी क्याम्पस अगाडिको सडकमा आयोजित उक्त साहित्यिक विरोध कार्यक्रममा करिब ४० जना प्रगतिशील स्रष्टाको सहभागिता रहेको थियो।