विराटनगर । विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) लिंक रोडमा मंगलबार साँझ भारतीय नम्बरको ग्यास बुलेटको ठक्करबाट साइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ। दुर्घटनामा विराटनगर–१४ जतुवाका अन्दाजी ४२ वर्षीय शिवचरण ठाकुर र उनकी १४ वर्षीया छोरी गरिमा ठाकुरको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको भारतीय ग्यास बुलेटले साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बाबु–छोरीलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मोरङ प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेका अनुसार दुर्घटनापछि आक्रोशित स्थानीयले ग्यास बुलेटमा तोडफोडको प्रयास गर्दै केहीबेर आईसीपी मोड क्षेत्रमा चक्काजामसमेत गरेका थिए। प्रदर्शनका कारण केही समय यातायात प्रभावित बनेको थियो।
प्रहरीले ठक्कर दिने ग्यास बुलेट र चालक रामलाल सहनीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।




















