काठमाडौं । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ सवारीसाधन दर्ता प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ ।

पूर्वाधार विकास मन्त्रालयले मातहतका सम्बन्धित निकायलाई परिपत्र जारी गर्दै तत्कालका लागि नयाँ सवारी दर्ता रोक्न निर्देशन दिएको हो । मन्त्रालयले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन, बढ्दो सवारी चाप, ट्राफिक व्यवस्थापनमा देखिएको चुनौती तथा इन्धनको निरन्तर बढ्दो मूल्यलाई आधार बनाएर यस्तो निर्णय गरिएको जनाएको छ ।

मन्त्रालयद्वारा जारी परिपत्रमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४ अनुसार अर्को व्यवस्था नभएसम्म सवारी दर्ता प्रक्रिया रोक्न अनुरोध गरिएको उल्लेख छ ।

सरकारको निर्णयअनुसार निजी सवारी मात्र नभई विद्युतीय सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया पनि अस्थायी रूपमा बन्द गरिने भएको छ ।

सरकारको यो कदमलाई सवारी आयात नियन्त्रण, सहरी ट्राफिक व्यवस्थापन सुधार तथा पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने रणनीतिसँग जोडेर हेरिएको छ । यद्यपि, यस निर्णयले अटोमोबाइल व्यवसाय, सार्वजनिक यातायात विस्तार तथा विद्युतीय सवारी प्रवर्द्धनमा प्रत्यक्ष असर पार्न सक्ने सरोकारवालाहरूले बताएका छन् ।