विराटनगर । कोशी प्रदेशसहित पूर्वी तथा मध्य नेपालमा वर्षा सक्रिय बनेपछि मौसम केही शीतल भएको छ भने पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भारततर्फ विकसित न्यूनचापीय प्रणालीको प्रभावले कोशीदेखि गण्डकी प्रदेशसम्म वर्षा भइरहेको हो । मौसमविदले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको बताएका छन् ।
पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको गोब्रे केन्द्रमा सबैभन्दा धेरै ८१ मिलिमिटर वर्षा मापन भएको छ । यता, पश्चिम तराईका दिपायल, धनगढी र नेपालगञ्ज क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको जनाइएको छ ।
मौसम विभागले लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हिट वेभको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।




















