झापा । मंगलबार आएको भीषण हावाहुरीले झापाका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ । विद्युत्का पोल ढल्दा विद्युत् सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

मेचीनगर, बिर्तामोड, गौरादह र बाह्रदशी क्षेत्रमा घर, उद्योग, गोठ, सवारी साधन तथा सार्वजनिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । बिर्तामोड नगरपालिकाको कार्यालय कक्षसमेत क्षतिग्रस्त भएको छ ।

विद्युत् प्राधिकरणका अनुसार ५० भन्दा बढी पोल ढलेका छन् । हालसम्म मानवीय क्षतिको विवरण नआए पनि करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रशासनले सडक खुलाउने र विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र बनाएको जनाएको छ ।