काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको प्रभावका कारण विभिन्न क्षेत्रमा बदली र वर्षा भइरहेको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। मौसमविद्ले वर्षा, चट्याङ र सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन मौसम विदले सुझाव दिएका छन्।


















