विराटनगर । विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले प्रस्तुत गरेका नवप्रवर्तनात्मक परियोजनाले सबैको मन लोभ्याएको छ। विद्यालय तहबाटै वैज्ञानिक सोच, अनुसन्धान संस्कृति र व्यवहारिक सिकाइ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले २३ वटा स्टलमार्फत विभिन्न वैज्ञानिक मोडल प्रदर्शन गरेका थिए।
कक्षा ९ की छात्रा सुष्यना काफ्लेले मानव मुटुको संरचना र कार्यप्रणाली झल्काउने मोडल प्रस्तुत गर्दै स्वास्थ्य विज्ञानप्रतिको रुचि देखाएकी थिइन्,भने कक्षा १० का विद्यार्थी विशाल पाल नेतृत्वको टोलीले फोहोरजन्य पदार्थबाट विद्युत् उत्पादन गर्ने मोडल थियो।
उत्कृष्ट परियोजनालाई १५ हजार रुपैयाँ, दोस्रोलाई १२ हजार, तेस्रोलाई १० हजार तथा सान्त्वना स्थान प्राप्त टोलीलाई एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको सोही विद्यालयका प्राध्यापक खेमराज भट्टराईले जानकारी दिए। साथै शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद भण्डारी, महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुंगेल तथा प्राचार्य खेमराज भट्टराईले विज्ञान प्रदर्शनीले विद्यार्थीमा अनुसन्धान, नवप्रवर्तन र प्रयोगात्मक शिक्षाको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।






















