विकासलाई उच्च प्राथमिकता : विराटनगरको बजेट ३ अर्ब ५६ करोड
- असार १०, २०८३
- १६२ पटक पढिएको
विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गर्दै पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिइएको जानकारी दिइन्।
महानगरले पूर्वाधार विकासतर्फ १ अर्ब ६० करोडभन्दा बढी रकम विनियोजन गरेको छ। बजेटमा सडक, सहरी विकास, विद्युत, फोहोरपानी प्रशोधन केन्द्र तथा मर्मत सम्भारका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।
सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पर्यटन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका कार्यक्रमसमेत बजेटमा समेटिएका छन्। महानगरले आन्तरिक आयबाट १ अर्ब २७ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
मेयर नागेश कोइरालाको अध्यक्षतामा सुरु भएको नगरसभामा प्रस्तुत बजेटलाई विकास, आर्थिक समृद्धि र सुशासन केन्द्रित रहेको बताइएको छ।




















