गजलकार राज लम्साल ‘यात्री’को गजलसङ्ग्रह ‘यात्री’माथि विमर्श सम्पन्न
- असार १४, २०८३
- ६७१ पटक पढिएको
सुन्दर्हरैँचा।मोरङ, असार १३ । गजलकार राज लम्साल ‘यात्री’को पहिलो एकल कृति ‘यात्री’ गजलसङ्ग्रहमाथि विशेष विमर्श कार्यक्रम सम्पन्न भएको छ। कोसी साहित्य–कला परिषद् नेपाल को आयोजनामा सुन्दरहरैँचा–८, सलकपुरस्थित सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
प्राज्ञ विवश पोखरेल को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अग्रज स्रष्टा हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, कवि तथा आख्यानकार छवि वैरागी घिमिरे, स्वर सङ्गम सङ्गीतालय विराटनगरका प्रमुख कुशेस्वर राई, कृतिकारकी माता जीवकुमारी लम्साल, ब्राइट फ्युचर सेकेन्डरी स्कुलका सञ्चालक कृष्ण ढकाललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश, छन्द वाटिका नेपाल, विराट साहित्य समाज, बेलबारी साहित्य विकास समिति, मिक्लाजुङ साहित्य समाज, सङ्गीत साधना प्रतिष्ठान इटहरी, सगरमाथा साहित्य प्रतिष्ठान कोसी प्रदेश तथा सप्तक कला केन्द्र सलकपुरलगायत संस्थाका प्रतिनिधिहरू, स्रष्टा, कलाकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेले कृतिकारको परिचय प्रस्तुत गरेको कार्यक्रममा कवि तथा आख्यानकार छवि वैरागी घिमिरे ले कृतिमाथि समीक्षात्मक विमर्श प्रस्तुत गरेका थिए। उनले ‘यात्री’का गजलहरू भाव, विषयवस्तु र अभिव्यक्तिका दृष्टिले उत्कृष्ट रहेको बताए।
प्रमुख अतिथि विवश पोखरेल ले गजल केवल बहर मिलाएर मात्र पूर्ण नहुने उल्लेख गर्दै त्यसमा भाव र शिल्प पक्षको सन्तुलन आवश्यक हुने धारणा राखे। उनले राज लम्साल ‘यात्री’का गजलहरू समसामयिक र प्रभावकारी रहेको बताए।
कार्यक्रमका अध्यक्ष तथा परिषद्का अध्यक्ष केशु विरहीले देश–विदेशमा परिचित स्रष्टाहरू आफ्नै गाउँठाउँमा भने प्रायः ओझेलमा पर्ने गरेको उल्लेख गर्दै गजलकार यात्रीलाई आफ्नै माटोमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा राज लम्साल यात्री, भूमा अधिकारी, सुनिल अधिकारी, अस्मित धमला र समीक्षा दाहालले कृतिभित्र समावेश पाँच गजलको सांगीतिक प्रस्तुति दिएका थिए। त्यसैगरी मिश्रा गुरुङ, मुना आत्रेय, रमेश निरौला र हरि पराजुलीले कृतिका गजलहरू वाचन गरेका थिए।
सुन्दरहरैँचा–८, सलकपुर निवासी राज लम्साल ‘यात्री’ लामो समयदेखि गीत तथा गजल लेखनमा सक्रिय छन्। साहित्य पोस्ट, कोसी साहित्य–कला परिषद् नेपाल तथा सगरमाथा साहित्य प्रतिष्ठानलगायत संस्थासँग आबद्ध उनको ‘यात्री’ पहिलो एकल कृति हो। यसअघि उनका विभिन्न संयुक्त कृतिहरू प्रकाशित भइसकेका छन्। उक्त कृति साहित्य पोस्टले प्रकाशन गरेको हो।
कार्यक्रममा परिषद्का उपाध्यक्ष विष्णु भण्डारी आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव नवराज पोखरेल ‘नवशिला’ले सञ्चालन गरेका थिए। अध्यक्ष केशु विरहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।





















