काठमाडौं। असार १५। देशभक्त नागरिक समाजको आयोजनामा आइतबार काठमाडौंको डिल्लीबजारस्थित भोजनगृहको सभाहलमा डा. गोपाल पौड्याल ‘मण्डने’द्वारा लिखित ‘पृथ्वीपथ र श्रीजयसस’ कृतिको भव्य विमोचन तथा विचार गोष्ठी सम्पन्न भएको छ।
समाजका अध्यक्ष रञ्जनराज खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरत बस्न्यात प्रमुख अतिथि थिए। कार्यक्रममा प्रा. पेशल निरौला र वरिष्ठ साहित्यकार खगेन्द्र सिटौलाले पुस्तकमाथि आफ्ना धारणा राखे, भने कार्यक्रमको सञ्चालन मनोज सापकोटाले गरे।
कार्यक्रमको प्रारम्भमा लेखक डा. गोपाल पौड्याल ‘मण्डने’ले उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, बुद्धिजीवी, साहित्यकार, सञ्चारकर्मी, समाजसेवी तथा राष्ट्रप्रेमी महानुभावहरूलाई स्वागत तथा सम्मान व्यक्त गरे। त्यसपछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा लेखकले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।
‘हामी केवल पुस्तक होइन, नयाँ वैचारिक यात्राको विमोचन गर्दैछौं’
विमोचनपछि आफ्नो मन्तव्य राख्दै लेखक डा. पौड्यालले भने।आज हामी केवल एउटा पुस्तक विमोचन गर्न भेला भएका होइनौं, नेपालको माटोमा जन्मिएको एउटा मौलिक विचार, एउटा दर्शन र नयाँ वैचारिक अभियानको सार्वजनिक यात्राको साक्षी बन्न यहाँ उपस्थित भएका हौं।"
उनले प्रस्तुत गरेको ‘पवित्र समाजवाद–श्रीजयसस’ सत्ता प्राप्तिको राजनीतिक दस्तावेज नभई मानव, समाज र राष्ट्रलाई नैतिकता, आध्यात्मिकता, सेवा, सत्य, श्रम, करुणा र सुशासनका आधारमा रूपान्तरण गर्ने समग्र जीवनदर्शन भएको बताए।
उनका अनुसार विश्वमा प्रचलित पूँजीवाद र समाजवादले आर्थिक पक्षलाई सम्बोधन गरे पनि मानव चेतना, नैतिकता र आध्यात्मिक मूल्यलाई पर्याप्त महत्व दिन नसक्दा भ्रष्टाचार, स्वार्थ, हिंसा, असमानता र नैतिक पतन बढेको छ। यही यथार्थलाई दृष्टिगत गर्दै नेपालको आफ्नै सभ्यता, संस्कृति, राष्ट्रवाद र आध्यात्मिक परम्परामा आधारित ‘पवित्र समाजवाद–श्रीजयसस’ को अवधारणा विकास गरिएको उनले स्पष्ट पारे।
के हो ‘श्रीजयसस’?
लेखकका अनुसार ‘श्रीजयसस’ चार आधारभूत दार्शनिक स्तम्भमा आधारित अवधारणा हो—
१ = श्री : समृद्धि, सत्य, नैतिकता, आध्यात्मिक चेतना र नेतृत्वको प्रतीक।
४ = ज : जमिन, जल, जनता र जनसहभागिता—राष्ट्र विकासका आधार।
७ = S : सुशासनका सात आधार—Strategy, Structure, Systems, Shared Values, Skills, Style र Staff।
१० = स : संस्कार, संस्कृति, समानता, सहअस्तित्व, सत्य, सेवा, श्रमदान, सृजनशीलता, सद्भाव र सन्तुलन।
उनले यी चार आधारको समन्वयलाई नै ‘श्रीजयसस दर्शन’ नाम दिइएको बताउँदै यसको मूल सूत्र "नेतृत्व + संगठन + ज्ञान/आध्यात्मिकता + सफल कार्यान्वयन" रहेको उल्लेख गरे।
‘यो कुनै आयातित विचार होइन’
लेखकले आफ्नो दर्शन कुनै विदेशी विचारधाराको प्रतिलिपि नभई नेपालको माटोमा जन्मिएको मौलिक नेपाली राजनीतिक तथा सामाजिक दर्शन भएको दाबी गरे।
"यो कुनै मार्क्सवाद, लेनिनवाद, माओवाद वा गान्धीवादको विरोध होइन," उनले भने।ती विचारधाराका सकारात्मक पक्षलाई सम्मान गर्दै नेपालको आफ्नै भूगोल, संस्कृति, आध्यात्मिक चेतना र राष्ट्रिय आवश्यकताअनुसार नयाँ वैचारिक प्रस्ताव प्रस्तुत गरिएको हो।"
उनले राजनीति सत्ताको साधन नभई लोककल्याणको साधना हुनुपर्ने, नेता शासक नभई जनताको सेवक हुनुपर्ने तथा आर्थिक विकाससँगै नैतिक र आध्यात्मिक विकास अपरिहार्य रहेको धारणा व्यक्त गरे।
‘वादहरूमाथिको महावाद’
डा. पौड्यालले ‘पवित्र समाजवाद’ लाई वादहरूमाथिको महावादका रूपमा व्याख्या गर्दै यसले अर्थनीति, राजनीति, धर्म, संस्कृति, विज्ञान र प्रकृतिलाई एउटै जीवनदर्शनमा समेट्ने प्रयास गरेको बताए।
उनका अनुसार यो दर्शनले वर्गसंघर्षलाई करुणा र संवादमा रूपान्तरण गर्दै विकासलाई नैतिकता, वातावरण संरक्षण, श्रमको सम्मान र राष्ट्रभक्तिसँग जोड्दछ।
उनले आफ्नो दर्शन अन्तिम सत्यको दाबी नभई नेपालका लागि नयाँ वैचारिक प्रस्ताव मात्र भएको उल्लेख गर्दै खुला बहस, आलोचना, परीक्षण र व्यवहारबाट यसलाई अझ समृद्ध बनाउन सकिने बताए।
वक्ताहरूको धारणा
वरिष्ठ साहित्यकार खगेन्द्र सिटौलाले लेखकको नौ वर्षको अध्ययन, अनुसन्धान र साधनाको प्रशंसा गर्दै यो पुस्तक हरेक राजनीतिकर्मी, नीति निर्माता र राष्ट्रप्रेमी नेपालीले अध्ययन गर्नुपर्ने धारणा व्यक्त गरे। राष्ट्रवाद कमजोर बन्दै गएको वर्तमान अवस्थामा यस कृतिले नयाँ वैचारिक बहस सिर्जना गर्ने उनको विश्वास थियो।
प्रा. पेशल निरौलाले ‘पृथ्वीपथ’लाई नेपालको राष्ट्रनिर्माणको आधारशिला भन्दै त्यसैको वैचारिक विस्तारका रूपमा ‘श्रीजयसस’ प्रस्तुत गरिएको उल्लेख गरे। उनले पुस्तकमा समावेश गरिएको २० वर्षे राष्ट्रिय विकास मार्गचित्रलाई पनि उल्लेखनीय योगदानको रूपमा लिए।
प्रमुख अतिथि भरत बस्न्यातले बेलायतमा बसोबास गर्दागर्दै पनि लेखकले नेपाली भाषा, साहित्य, इतिहास र राष्ट्रप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिएकोमा प्रशंसा व्यक्त गर्दै यस कृतिले राष्ट्रवादी चिन्तनलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरे।
समापन मन्तव्यमा सभापति रञ्जनराज खनालले पुस्तक अध्ययनपछि आफू प्रभावित भएको उल्लेख गर्दै लेखकको राष्ट्रवादी दृष्टिकोण र समर्पणको प्रशंसा गरे। उनले विदेशमा रहेका नेपालीहरूको नागरिकता सम्बन्धी समस्यातर्फ सरकारको ध्यानाकर्षण गराउँदै "एकपटकको नेपाली सधैंको नेपाली" भन्ने नीतिलाई व्यवहारमा लागू गर्न आग्रह गरे।
कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले ‘पृथ्वीपथ र श्रीजयसस’ नेपाली माटोमा जन्मिएको मौलिक वैचारिक दस्तावेज भएको उल्लेख गर्दै यसले राष्ट्रवाद, सुशासन, नैतिक राजनीति, सामाजिक न्याय र आध्यात्मिक चेतनालाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेको धारणा व्यक्त गरेका थिए।




















