विराटनगर । सामुदायिक रेडियोकर्मी तथा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने "सामुदायिक रेडियोकर्मीहरूको क्षमता विकास तालिम" आज सम्पन्न भएको छ।

विराटनगरस्थित विराट टाइम्स मिडिया प्रा.लि. को आयोजनामा सम्पन्न तालिमको अध्यक्षता कम्पनीका अध्यक्ष अविनाश कुमार निधि ले गरेका थिए। कार्यक्रम कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय को समन्वयमा सञ्चालन गरिएको थियो।

असार १८ गतेदेखि २० गतेसम्म नेपाल पत्रकार महासंघ, कोशी प्रदेशको सभाहलमा सञ्चालन भएको तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका सामुदायिक रेडियोकर्मी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिममा प्रशिक्षक ज्ञानेन्द्र निरौला (झापा), नेत्र पी. अधिकारी (विराटनगर) र निलिफा सुब्बा ले रेडियो पत्रकारिता, समाचार लेखन तथा प्रस्तुति, कार्यक्रम निर्माण, डिजिटल माध्यमको प्रभावकारी प्रयोग, सञ्चार सीप विकासलगायत विविध विषयमा प्रशिक्षण दिएका थिए।तालिमका क्रममा नेपाल पत्रकार महासंघ, कोशी प्रदेशको सचीव हिमा चेम्जोङ्ले सहभागीहरुलाई धन्यवाद दिदै पछिल्लो समय सामुदायिक रेडियोहरूले भोगिरहेका चुनौतीबारे आफ्नो धारणा राखेकी थिइन् । विशेषगरी डिजिटल माध्यमको विस्तारसँगै रेडियो श्रोताको संख्या घट्दै गएको, आर्थिक स्रोत सङ्कुचित हुँदै गएको तथा रेडियोलाई समयअनुकूल रूपान्तरण गर्दै नयाँ श्रोता आकर्षित गर्नुपर्ने आवश्यकता रहेको विषयमा सहभागीहरूले आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका थिए।