धनकुटा। असार २१ । माननीय गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न गरेका छन्।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले जिल्ला प्रहरी कार्यालयको ड्युटी अधिकृत कक्ष, अपराध अनुसन्धान शाखा, हिरासत कक्षलगायत विभिन्न शाखा तथा कार्यालयका समग्र गतिविधिको अवलोकन गरेका थिए।
अवलोकनपछि उनले प्रहरी प्रशासनलाई सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न, नागरिकका समस्या समयमै पहिचान गरी छिटो, छरितो र प्रभावकारी सेवा प्रवाहलाई निरन्तरता दिन निर्देशन दिएका छन्।
गृहमन्त्री गुरुङले प्रहरी संगठनप्रति नागरिकको विश्वास अझ मजबुत बनाउन पारदर्शी, जिम्मेवार र नागरिकमैत्री कार्यशैली अपनाउनुपर्नेमा जोड दिएका थिए। साथै, शान्ति सुरक्षा कायम राख्दै कानुनको प्रभावकारी कार्यान्वयनमा थप सक्रिय हुन प्रहरी कर्मचारीलाई आग्रह गरेका छन्।
निरीक्षण तथा भ्रमण कार्यक्रम जिल्लाको सुरक्षा व्यवस्था, सेवा प्रवाहको अवस्था तथा प्रहरी कार्यालयको कार्यसम्पादनबारे जानकारी लिने उद्देश्यका साथ सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।




















