फुलु प्रधान
मोरङ । सशस्त्र प्रहरी बल (एपीएफ) ले मोरङको सुन्दरहरैचा नगरपालिका–८ स्थित सलकपुर चोकबाट करिब ५ लाख रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल मुद्दती तथा सेवा गुल्म, सुनसरी (हाल सलकपुर, मोरङ) बाट प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ई. नविन बानियाँ को नेतृत्वमा खटिएको टोलीले मिति २०८३ असार २१ गते साँझ ७:०० बजे विशेष सूचनाका आधारमा पूर्व–पश्चिम लोकमार्गस्थित सलकपुर चोकमा जाँच गरेको थियो।
जाँचका क्रममा काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००७ ख ००३४ नम्बरको ‘पाँच पोखरी’ नामक रात्रि बसबाट कुनै बिल–बिजक नभएका तथा अवैध रूपमा भन्सार छली गरी ओसारपसार गरिँदै गरेका सारी, कुर्ता–सुरुवाल, लेगिङ्स, टप्सलगायतका लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानको अनुमानित मूल्य ५ लाख रुपैयाँ रहेको छ। बरामद सामान हाल सशस्त्र प्रहरीको नियन्त्रणमा राखिएको छ भने आवश्यक कानुनी कारबाहीका लागि २०८३ असार २२ गते विराटनगर भन्सार कार्यालय रानी मा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।




















