ए प्यारी तिमी मन र मेरी तनकी रानी हौ
सहारा मेरी सुखदुःखमा मायाकी खानी हौ
कुसुम तिमी म फूलबारी बनेर बस्नु छ
बिश्वास साथ एक अर्काको मनमा पस्नु छ ।
।१।
मिलेर हामी परिवारको जीवन सिंगारौं
बनाऔं भत्के सिलाऔं उध्रे अवस्था सुधारौं
गल्तीमा माफी गरौं है दिने स्यावासी सहिमा
कोकमा हैन बिश्वास गरौँ दही र महीमा ।
।२।
नक्कल अनि आडम्बरको प्रवेश नदिऔं
जीवन सादा बिचार उच्च यसैमा सजिऔं
घरका धन्दा मिलेर गरौँ मिलेरै बारीमा
भेदभावको भवना नहोस् पुरुष नारीमा ।
।३।
आदर्श हाम्रो बनाऔ घर सजाऔं खुशीले
नबिगारियोस् देह र आत्मा दुष्टका ढुसीले
ईश्वरलाई शिरमा राखी दैनिकी चलाऔं
अड्चन बाधा परिवारको मिलेरै ढलाऔं ।
।४।
कुटुम्ब नाता पाहुनापाछा हँसाई रमाई
बढाऔं अघि गृहस्थी हाम्रो संस्कार समाई
समाज अनि परिवारको बनेर ज्योती झैँ
उदाहरण बन्नु छ प्यारो हिरा र मोती झैँ ।
।५।
हरिप्रसाद तिमल्सिना
त्रिपुरासुन्दरी -४
धादिङ




















