विराटनगर।प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा खेलकुद सरोकारवाला, निजी क्षेत्र तथा ख्यातिप्राप्त खेलकर्मीबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष रामप्रसाद महतोको अध्यक्षता कार्यक्रम सुरु भएको थियो।

विराटनगरको कंचनजङ्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कोशी प्रदेशका खेलकुद क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्व तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्वाधारमन्त्री प्रदीपकुमार सुनुवार, विशिष्ट अतिथिका रूपमा भूमि व्यवस्था तथा कृषिमन्त्री इस्मायल अन्सारी तथा अध्यक्षका रूपमा सामाजिक विकासमन्त्री रामप्रसाद मेहताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खेलकुद क्षेत्रका विभिन्न सरोकारवाला, उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधि, खेलकर्मी तथा खेल संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कोशी प्रदेशमा खेलकुद क्षेत्रको विकास, पूर्वाधार विस्तार, निजी क्षेत्रको लगानी, खेलाडी उत्पादन तथा खेलकुदलाई आर्थिक र सामाजिक विकाससँग जोड्ने विषयमा विस्तृत छलफल भएको थियो। सहभागी खेलाडीहरुले मन्त्रीले आफ्नो कुरा नसुनेको  र आफ्नो मन्तव्य सकेर खुरुक्कै हिंडेको भन्दै आक्रोश समेत पोखेका थिए। प्रदेशस्तरीय खेलकुद गतिविधिलाई प्रभावकारी बनाउन सरकारी निकाय, निजी क्षेत्र र खेल संघबीच सहकार्य आवश्यक रहेको र फरक ढंगले लगे खेल क्षेत्र मा तेवा पुग्ने धारणा राखेका थिए।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका प्रतिनिधि, विभिन्न जिल्लाका खेलकुद संघका पदाधिकारी तथा खेलकर्मीहरूको उपस्थिति रहेको थियो। 

अन्तरक्रिया कार्यक्रमले खेलकुद क्षेत्रको समग्र विकासका लागि साझा अवधारणा निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आयोजकले प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समावेश गरिने जनाएको छ।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका खेलकर्मीहरुको सहभागिता रहेको थियो।