विराटनगर।विराटनगर महानगरपालिका–१८ भेडियारी क्षेत्रमा गाँजा तस्करीमा संलग्न सुरक्षाकर्मीले सञ्चालन गरेको खोजी तथा नियन्त्रण अभियानका क्रममा एक जनालाई पक्राउ गरिएको छ भने अर्का एक व्यक्ति पोखरीमा हामफालेर फरार भएका छन्।
इस्थानियका अनुसार गाँजा तस्करी गरिरहेको समूहलाई खेद्ने क्रममा एक मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिन सफल भएको थियो। सोही क्रममा समूहका अर्का सदस्य विराटनगर–१८ निवासी मन्जित यादव नजिकै रहेको पोखरीमा हामफालेर बेपत्ता भएका छन्।
फरार भएका यादवको खोजीका लागि सशस्त्र प्रहरी बल, सुरक्षा निकायको टोलीले पोखरी र आसपासका क्षेत्रमा व्यापक खोजतलास जारी राखेको छ। बेलुकासम्म पनि उनी फेला नपरेपछि खोजी कार्यलाई थप तीव्र बनाइएको सुरक्षा स्रोतले जनाएको छ।
घटनास्थलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला सहित सुरक्षा निकायका अधिकारीहरूले स्थलगत निरीक्षण गरेका थिए। खोजी तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरू परिचालित गरिएको हो।
डाइभिङ तथा उद्धार टोलीले पोखरी क्षेत्रमा खोजी कार्य जारी राखेको छ।यस घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।




















