मैले आज नाप्नु छ

ओभानो आँखाभित्र तैरिरहेको

त्यो अदृश्य 'मृत्युको आयतन'।

जसलाई भौतिक विज्ञानका कुनै सूत्रले भर्न सक्दैन,

जसलाई गणितका अङ्कहरूले बुझाउन सक्दैन।

त्यो आयतन,

जुन कसैको तुच्छ बोलीको लम्बाइले सुरु हुन्छ,

उपेक्षाको असीमित चौडाइमा फैलिन्छ,

र आत्मामा लागेको चोटको गहिराइमा गएर टुङ्गिन्छ।

हो, यही त हो मेरो दुःखको आयतन!

म त एउटा जीवित लास मात्रै त हुँ,

जसलाई श्वास फेरिरहेको भ्रम दिएर

हरेक दिन शब्दका धारिला आरनहरूमा रेटिन्छ।

शरीर सग्लो हुनु र जिउँदो हुनुमा कति धेरै फरक छ,

मलाई त हरेक साझ 'बोझ' भएको टोनले

चिहानको नयाँ क्षेत्रफल बुझाएर जान्छ।

काँचको ऐना फुटेर टुक्रा-टुक्रा भए झैँ

जब शून्यताको कालो बादलले मलाई घेर्छ,

तब म ब्रह्माण्ड जत्तिकै विशाल बनिदिन्छु।

त्यो विशालतामा,

न कसैको बोलीको वाण बिझ्ने डर हुन्छ,

न त कसैको नजरमा भारी बन्नुको ग्लानि!

अब त लाग्छ,

यो सासको लम्बाइभन्दा, त्यो मौनताको चौडाइ नै प्यारो छ।

जहाँ पुगेपछि समाप्त हुनेछन् सबै नाप र तौलहरू,

जहाँ बिलाउनेछन ,मेरो अस्तित्व,

र पूर्ण हुनेछ,

यो संकुचित संसारले मलाई दिएको,

'मृत्युको आयतन'।


जमुना क्षेत्री

इटहरी