काठमाडौँ ।चीनको हुनान प्रान्तस्थित छाङसामा आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ (नेपाली चलचित्र सप्ताह) मा उत्कृष्ट ठहरिएका नेपाली चलचित्र तथा स्रष्टाहरूलाई काठमाडौँमा आयोजित विशेष समारोहमा नगद पुरस्कारसहित सम्मान गरिएको छ। समारोहमा कुल १० हजार अमेरिकी डलर बराबरको पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

गत अप्रिल १४ देखि १९ सम्म चीनको छाङसामा सम्पन्न फेस्टिभलमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्र र चलचित्रकर्मीलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गरिएको हो। आयोजकका अनुसार नेपाली चलचित्रले अन्तर्राष्ट्रिय मञ्चबाट एकैपटक प्राप्त गरेको यो उल्लेखनीय नगद पुरस्कारमध्ये एक हो।

फेस्टिभलमा चलचित्र ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित हुँदै ४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्न सफल भएको छ। त्यसैगरी चलचित्र ‘तेल भिसा’ का निर्देशक शंकर घिमिरे उत्कृष्ट निर्देशक घोषित हुँदै २ हजार अमेरिकी डलर पुरस्कारबाट सम्मानित भए।

अभिनयतर्फ चलचित्र ‘छक्का पञ्जा’ का दीपकराज गिरी उत्कृष्ट अभिनेता तथा चलचित्र ‘कबड्डी ४’ की मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। दुवैले जनही १ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै चलचित्र ‘महाजात्रा’ का पुरुषोत्तम प्रधान उत्कृष्ट छायाकार तथा चलचित्र ‘हस्टेल ३’ उत्कृष्ट सम्पादन विधामा पुरस्कृत भएका छन्। दुवै विधामा १–१ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिएको थियो।

आयोजकका अनुसार विजेता छनोटका लागि डा. सिमोन किउको नेतृत्वमा चिनियाँ प्राध्यापक, चलचित्र विज्ञ तथा फिल्म कलेजका विद्यार्थीहरू सम्मिलित टोलीले मूल्याङ्कन गरेको थियो।

अवार्ड वितरण समारोहमा हलिउड निर्देशक चेन शि–झाङ सहित आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको उपस्थिति रहेको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अभिनेता हरिहर शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै फेस्टिभलका संस्थापक अध्यक्ष लि हङ्सुले चलचित्र र कलाको कुनै सीमा नहुने उल्लेख गर्दै नेपाल–चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउन फेस्टिभलले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

फेस्टिभल अध्यक्ष करुण थापाले नेपाली चलचित्रका लागि चिनियाँ सिनेमा हल तथा ओटिटी प्लेटफर्ममा प्रवेश गर्ने अवसर सिर्जना भएको बताउँदै यसलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि भविष्यमा नेपाली चलचित्रले चीनमा ठूलो व्यावसायिक बजार पाउने विश्वास व्यक्त गरे।

समारोहमा नेपाली चलचित्र उद्योग र चिनियाँ लगानीकर्ताबीच सह–उत्पादन (को–प्रोडक्सन) तथा आधुनिक एआई प्रविधिको प्रयोगमार्फत निर्माण हुने चलचित्रलाई चीनका प्रमुख ओटिटी प्लेटफर्ममा प्रदर्शन गर्ने सम्भावनाबारे समेत छलफल भएको जानकारी दिइएको छ।

कार्यक्रममा नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा चलचित्र क्षेत्रको विकासमा योगदान पुर्‍याउने विभिन्न चिनियाँ तथा नेपाली व्यक्तित्वलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।