जीवनको बाटोमा धेरै अनुहारहरू भेटिए—

केही वसन्तझैँ फुले,

केही पतझडझैँ चुपचाप झरे।

परिचयको ऊष्मामा आत्माले आत्मालाई छोयो,

भावनाहरूको सतहमा केही शब्दहरू बोलिए,

केही मौनताले पुल बनाए।

केही समयसम्म संगै हिँड्यौं,

सासहरूको सुरमा आलाप जोडिरह्यो।

तर समयको डुङ्गाले अचानक कसैलाई किनारामा झार्‍यो—

कहाँ गयो, कुन दिशातिर मोडियो, केही थाहा भएन।

बस सम्झनाहरू बाँकी रहे—

जसरी घाममा हराउँदै गएको यात्रुको छायाँ बाँकी रहन्छ।

केही त्यस्ता पनि आए,

जो हाँसोका केही छालहरू लिएर आए,

तर विचारहरूको कुनै मोडमा चुपचाप दिशा फेरे—

अरू जीवनको, अरू शहरको खोजमा।

तर केही अनुहारहरू अझै सडकमा भेटिन्छन्—

क्षणभरको मुस्कानसहित “कसरी छौ?” भन्छन्,

र फेरि आ-आफ्नो समयमा अघि बढ्छन्।

म अझै पनि त्यहीँ उभिएको छु—

जहाँ आत्माको तालमा प्रत्येक भेट एउटा ढुंगो भएर खस्छ।

तरंगहरू उठ्छन्—

र फेरि विस्तारै शान्त हुन्छन्।

म चाहन्छु—

ती सबै मान्छेहरू जो कहिल्यै मसँग जोडिए,

कहिल्यै मसँग छुट्टिए नै नहून्।

तिनीहरूको आत्मा मेरी आत्मामा सधैँका लागि मिसियोस्।

म एक्लोपन चाहन्न।

म त्यो चाहना हुँ—

जो सम्बन्धहरूमा स्थायित्व खोज्छ।

म त्यो प्रतीक्षा हुँ—

जो हरेक मुस्कानको पछाडि आफ्ना लागि आश्रय खोज्छ।

म त्यो खालीपन हुँ—

जो भिडमा पनि आफ्नो अस्तित्वको प्रमाण खोज्छ।

म त्यो प्रश्न हुँ—

जो हरेक उत्तरमा अलिकति अपनत्व टोलाउँछ।

मलाई देखावटी कुरा चाहिन्न—

मलाई त्यस्तो साथ चाहिन्छ,

जो मेरा टुक्रिएका भागहरू सम्हाल्न सकोस्,

जो मेरो मौनतालाई पनि पढ्न सकोस्।

म त्यो सम्बन्ध हुँ—

जो शब्दले होइन,

एहसासले जोडिन्छ।

म त्यो धड्कन हुँ—

जो कुनै "हामी" को निम्ति बाँच्न चाहन्छ।

म त्यो शब्द हुँ—

जो नबोलीएका सम्बन्धहरूमा गुञ्जन्छ,

त्यो स्पर्श हुँ—

जो मौनतामा पनि अपनत्व रोप्छ।

म कसैको होइन,

तर कसैसँग हुनु चाहन्छु।

— मिथिलेश आदित्य