विराटनगर  । नेपाली बजारमा साताको पहिलो कारोबारको दिन सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढ्दो क्रममा रहेसँगै त्यसको प्रभाव स्वदेशी बजारमा पनि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ। यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो। चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला चाँदी चार हजार ४१० रुपैयाँले कायम गरिएको छ, जुन शुक्रबारको तुलनामा ६० रुपैयाँले बढेको हो।

शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भएको विजय राठिले बताए ।