विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार दुई समुदायबीच भएको झडपमा एक जनाको ज्यान गएको छ। घटनामा गोलि लागेर १० घाइते भएका छन्। 

प्राप्त प्रारम्भिक जानकारीअनुसार झडपका क्रममा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। झडप उग्र बनेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ।

घटनापछि ठूलो संख्यामा नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय प्रशासनले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ।