म्याग्दी। अविरल वर्षापछि म्याग्दी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा पहिरो खस्दा एक वृद्धको मृत्यु भएको छ। घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ।

जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानी तल्लो हाडेभिरमा सोमबार बिहान करिब २ बजे टकदेवी थापाको घरमाथिबाट पहिरो खस्दा घर पुरिएको थियो। घरभित्र रहेका तीन जनालाई प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उद्धार गरिएकामध्ये लक्ष्मण थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने अन्य दुई जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटनामा घरमा रहेका चौपायालाई कुनै क्षति पुगेको छैन। साथै, आसपासका अन्य बस्ती तत्काल जोखिममा नरहेको जनाइएको छ।

यता, बेनी नगरपालिका–३ भकिम्ली चिमखेतमा पहिरोले अर्को दुःखद् घटना निम्त्याएको छ। ७० वर्षीय लालबीर छन्त्याल आफ्नै घरमा सुतिरहेका बेला घरमाथिबाट पहिरो खस्दा घरसँगै पुरिएका थिए। प्रहरी र स्थानीयवासीको खोज तथा उद्धार टोलीले उनको शव फेला पारेको जनाएको छ।

लगातारको वर्षासँगै पहिरोको जोखिम बढिरहेका बेला जिल्लाका विभिन्न स्थानमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।