झापा। झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१–०१–००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर नगरपालिका–९ निवासी ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई कार चालकले नै तत्काल सोही गाडीमार्फत उपचारका लागि ओमसाई पाथिभरा अस्पताल पुर्‍याएका थिए। अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न कार र चालक बुद्धशान्ति गाउँपालिका–२ निवासी ४६ वर्षीय मदन प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव हाल ओमसाई पाथिभरा अस्पतालमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।