विराटनगर ।कोशी प्रदेश सरकारले सुनसरी जिल्लाको देवानगन्ज–कप्तानगंज घटनाका मृतक परिवारलाई २ लाख र पीडित परिवारलाई जनही ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

सुनसरीको देवानगंज,कप्तानगंज घटनालाई लिएर कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधवार विराटनगरमा आयोजना गरेको सर्वपक्षीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मृतकका परिवारलाई २ लाख र पीडित परिवारलाई जनही ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेको हो ।

कोशी प्रदेश सरकारबाट क्षतिपूर्ति लिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीको सिफारिस अनिवार्य गरिएको छ । देवानगंज गाउँपालिकाको वडा नं. ३ स्थित कप्तानगंजमा साउन १० गते आइतबार राती ९ः३० बजे दुई समुदाय बिच भड्किएको  हिंसा र त्यसपछि चलेको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

१८ जनाभन्दा बढी घाइते भएका छन् । जसमध्ये केहीको अवस्था नाजुक छ । राज्य पक्षले गोली नचलाएको दाबी गरेको छ । गोली कसले चलायो भन्ने विषयलाई लिएर नेपाल सरकारको गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान गरिरहेको छ ।

यसै बिच मृतकका परिवारलाई २ लाख र घटनामा घाइते भएका र घर जलेका पीडित परिवारलाई जनही ५० हजार क्षतिपूर्ति दिने निर्णय कोशी प्रदेश सरकारले गरेको हो ।