विराटनगर । नेपाली चलचित्र ‘गौँथली’ दोस्रो सातामा सफलतापूर्वक प्रदर्शन भइरहेको अवसरमा चलचित्रको मोफसल प्रचार–प्रसार अभियानअन्तर्गत मुख्य कलाकार सिमरन खड्का (गौँथली) र अरुण क्षेत्री (ठुले) सहितको टोली विराटनगर आइपुगेका छन् । डा.कपिल रिजाल निर्देशित चलचित्र ‘गौँथलीले प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दा दर्शकको राम्रो साथ पाएको कलाकार बताउँछन्।


विराटनगरका दर्शक तथा चलचित्र पत्रकारसँग भेटघाट र संवाद गर्न चलचित्रका सह–निर्माता गिरिराज घिमिरेसहित कलाकार सिमरन खड्का र अरुण क्षेत्री विराटनगर आएकाहुन्  ।
चलचित्र पत्रकार संघ कोशी प्रदेश र मोरङ शाखाले विराटनगरस्थित ह्याम्पी आवर हेवन रेष्टुरेन्टमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट तथा संवाद कार्यक्रममा कलाकारहरुले चलचित्रको विषयवस्तु, अभिनय अनुभव र दर्शकको प्रतिक्रियाबारे चर्चा गरेका थिए।


कार्यक्रममा चलचित्र पत्रकार संघ कोशी प्रदेशका अध्यक्ष वीरेन्द्रकुमार साहले चलचित्र ‘गौँथली’ले मनोरञ्जनसँगै सामाजिक विषयवस्तुलाई समेटिएको र प्राथमिकतामा राखेको बताए । 


त्यस्तै, चलचित्र पत्रकार संघ मोरङ शाखाका अध्यक्ष प्रेम देवानले चलचित्रको प्रचार–प्रसारसँगै कलाकार र दर्शकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्नु महत्वपूर्ण रहेको बताए । कार्यक्रममा मुख्य कलाकार सिमरन खड्काले ‘गौँथली’ चलचित्रमा आफूले निर्वाह गरेको पात्र दर्शकका लागि भावनात्मक र विशेष रहेको बताइन् । उनले चलचित्रले अटिजम भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको भन्दै दर्शकले चलचित्र हेरेपछि सकारात्मक सोच राख्ने  विश्वास व्यक्त गरिन् ।


त्यस्तै, कलाकार अरुण क्षेत्रीले ‘ठुले’को भूमिकामार्फत आफूले फरक किसिमको चरित्र निर्वाह गर्ने अवसर पाएको र बिमान फिल्ममा लामो समय विराटनगर बसेको अनुभव बताए । 

 चलचित्रले दर्शकबाट पाइरहेको प्रतिक्रिया र साथका कारण यस वर्षको सफल चलचित्रमध्ये एक बन्न सफल भएको बताए ।


विराटनगरमा आयोजित पत्रकार भेटघाट तथा संवाद कार्यक्रममा चलचित्र पत्रकार संघ कोशी प्रदेशका अध्यक्ष वीरेन्द्रकुमार साह, मोरङ शाखाका अध्यक्ष प्रेम देवानसहित चलचित्र पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।