विराटनगर। मोरङको विराटनगरस्थित विमानस्थलबाट लागूऔषध ब्राउन सुगर ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ निवासी २४ वर्षीय सुशान्त खड्का रहेका छन्। प्रहरीका अनुसार साउन १३ गते बेलुका करिब ७ बजे विमानस्थल सुरक्षार्थ खटिएको टोलीले प्रस्थान केन्द्रमा रहेको एक्स–रे (X-Ray) मेसिनमार्फत कार्गो सामग्री जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।
विराटनगर–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत राघव झा नामका व्यक्तिको नामबाट काठमाडौं पठाउन लागिएको स्पोर्ट्स जुत्ताको कार्गोभित्र प्लास्टिकमा पोको पारेर जुत्ताको सोलमा लुकाइछिपाइ राखिएको अवस्थामा १८ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध बरामद भएसँगै ओसारपसारमा संलग्न रहेको आरोपमा खड्कालाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका खड्कामाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।



















