वीरगञ्ज।पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।एक फरार रहेका छन्।
सडक विस्तारका क्रममा भत्काइएको घरको इँटा हटाउने विषयमा भएको विवादका क्रममा स्थानीय अन्दाजी ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते भएकी लिलावती देवीलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। उनको साउन १४ गते साँझ पुनः स्वास्थ्य अवस्था बिग्रिएपछि सोही अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा साँझ ७ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी सहायक निरीक्षकको नेतृत्वको टोलीले कुटपिटमा संलग्न लक्की प्रसाद पटेललाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले घटनामा संलग्न अर्का अभियुक्त मनोज प्रसाद कुर्मीको खोजी कार्य तीव्र बनाएको छ।



















