विराटनगर । सुनसरीको देवानगंज गाउँपालिकामा उत्पन्न जातीय तथा सामुदायिक तनावका कारण खलबलिएको सामाजिक एकतालाई सुदृढ बनाउन शुक्रबार विराटनगरमा सामाजिक सद्भाव र्याली आयोजना गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले आयोजना गरेको सर्वपक्षीय बैठकबाट सामाजिक सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो। बैठकमा सहभागी विभिन्न पक्षबाट उठेका सुझाव तथा चासोलाई सम्बोधन गर्दै र्याली आयोजना गर्ने टुङ्गो लागेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए।
उनका अनुसार मुस्लिम समुदायले दिउँसोको नमाज सम्पन्न गरेपछि अपराह्न ३ बजेपछि र्याली निकालिने भएको छ। र्यालीमा हिन्दु, मुस्लिम लगायत विभिन्न समुदायका धर्मगुरु तथा सामाजिक अगुवाहरूको सहभागिता रहनेछ।
सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आयोजित सर्वपक्षीय बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीसहित १५ भन्दा बढी सामाजिक संघसंस्था, राजनीतिक दल तथा मुस्लिम समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा मुस्लिम समुदायका अगुवा हसन अन्सारी, उनका छोरा अफताव अन्सारी, मो. फैयाज तथा वासिम आलमले सामाजिक सद्भाव र आपसी सहअस्तित्व कायम राख्न आफूहरू सधैँ प्रतिबद्ध रहेको बताए।
त्यसैगरी नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझी, राष्ट्रिय स्वतन्त्र पार्टी मोरङका सभापति कृष्ण निरौला, नेकपा एमाले मोरङका सचिव सोमराज थापा, जनता समाजवादी पार्टी नेपाल मोरङका उपाध्यक्ष मन्थलाल यादवले सामाजिक सद्भाव बिथोल्न खोज्ने जोकोहीमाथि प्रशासनले कडा कारबाही गर्नुपर्ने धारणा व्यक्त गरे।




















