विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनामा ज्यान गुमाएका दुई जनाको शव पोस्टमार्टमपछि अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाइएको छ।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई पक्षबीच उत्पन्न तनावका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि दुवै जनाको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा लगिएको थियो।
शुक्रबार बिहान पीडित परिवार र सरकारबीच सातबुँदे सहमति भएपछि परिवार शव बुझ्न तयार भएको थियो। त्यसपछि आफन्तजन कोशी अस्पताल पुगेका थिए।
अस्पताल प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी दुवै मृतकको शव पोस्टमार्टम सम्पन्न भएपछि परिवारलाई जिम्मा दिएको जनाएको छ। शव अन्त्येष्टिका लागि सम्बन्धित परिवारले आफ्नो गृहजिल्ला देवानगञ्ज लगेको छ।



















