विराटनगर।साउन १५ , नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई) मोरङ महिला उद्यम समिति द्वारा खिर खाने दिवस तथा मेहेन्दी उत्सव सम्पन्न गरिएको छ।


श्रावण महिनाको सांस्कृतिक महत्वलाई आत्मसात गर्दै खिरको मिठास र मेहेन्दीको रङमार्फत आपसी खुसी साटासाट गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ। कार्यक्रम शुक्रबार दिउँसो ३ बजे महासंघ मोरङको कार्यालयमा सम्पन्न भएको थियो।


कार्यक्रममा महिला उद्यमी, व्यवसायी तथा महासंघसँग आबद्ध सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। वातावरणमैत्री अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रममा सालको पातबाट निर्मित टपरी र दुनाको प्रयोग गरिएको थियो।


कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, महिला उद्यम समितिकी अध्यक्ष अमृता भण्डारी, पूर्व अध्यक्ष सुनिता छाराहाङलगायतको उपस्थिति रहेको थियो।


आयोजकका अनुसार यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रमले महिला उद्यमीबीच आपसी सद्भाव, सहकार्य तथा एकताको भावना अभिवृद्धि गर्नुका साथै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।