विराटनगर।मोरङ र झापाका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनाबाट ब्राउन सुगर, एक जनाको घरबाट प्रतिबन्धित औषधिजन्य ट्याब्लेट तथा अर्को घटनामा एक हजार किलोभन्दा बढी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

साउन १५ गते मोरङको विराटनगर महानगरपालिका–१५ मा इलाका प्रहरी कार्यालय रानी तथा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले सुन्दरहरैंचा नगरपालिका–१२ का २६ वर्षीय प्रेम अछामीलाई पक्राउ गरेको हो। उनको साथबाट १२ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर तथा प्र.०२–०४८ प ६१३९ नम्बरको स्कुटर बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी मोरङको रतुवामाई नगरपालिका–१० स्थित उर्लाबारी,आमबारी सडकखण्डमा इलाका प्रहरी कार्यालय सिजुवाले को १ ख ४३७३ नम्बरको मिनी ट्रकमा लुकाइराखिएको १ हजार ३३ किलो ४८४ ग्राम गाँजा बरामद गरेको छ। उक्त गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई नियन्त्रणमा लिइएको छ।

यस्तै मोरङको लेटाङ नगरपालिका–२ धोबीमा इलाका प्रहरी कार्यालय लेटाङले सोही स्थानकी २७ वर्षीया प्रमिला लामाको घरमा खानतलासी गर्दा ट्रामाडोल १५० ट्याब्लेट र स्पासपेन १५० ट्याब्लेट फेला पारेपछि उनलाई पक्राउ गरेको छ।

उता झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल क्षेत्रमा इलाका प्रहरी कार्यालय दमकले सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराका ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका–२ की २३ वर्षीया रोमी लिम्बु र झापाको दमक नगरपालिका–७ का २९ वर्षीय करण मल्लिकलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर, ट्रामोल ४ हजार ९६० क्याप्सुल तथा को ३४ प २६८९ र मे ६ प १८२७ नम्बरका दुई वटा स्कुटर बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।