रुकुम। पश्चिम , रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ छोटेबगरबाट करिब तीन किलोग्राम अफिमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आठविसकोट नगरपालिका–३ स्यालाखदी निवासी २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका–२ स्याला निवासी २० वर्षीय गणेश वलीलाई शंकास्पद अवस्थामा सडकछेउमा हिँडिरहेको अवस्थामा फेला पारिएको थियो। प्रहरी टोलीले उनीहरूलाई रोकी चेकजाँच गर्न खोज्दा अप्रत्याशित घटना भएको थियो।
प्रहरीका अनुसार चेकजाँचका क्रममा टिकाराम बोहराले बोकेको झोलाबाट गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरी सहायक निरीक्षक निरजबहादुर पालले अवस्था नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेका थिए।
हवाई फायरपछि दुवै जनालाई नियन्त्रणमा लिएर शरीर तथा झोला खानतलासी गर्दा करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ।



















