बेलबारी । पूर्वका परिचित कवि बादल चाम्लिङको नवीन कविताकृति ‘Nightmare (नाइटमेयर)’ सार्वजनिक गरिएको छ। बेलबारी–३ स्थित यालाङ होटेलको सभाहलमा आयोजित विशेष समारोहबीच अग्रज साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङ, समिक्षक डा. मोहन तुम्बाहाङ, कृतिकार बादल चाम्लिङ र बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन्।
ग्रामीण जनजीवन, स्थानीय परिवेश तथा मौलिक र सरल अभिव्यक्तिका माध्यमबाट नेपाली साहित्यमा छुट्टै पहिचान स्थापित गर्न सफल कवि चाम्लिङको पहिलो कविताकृति ‘पाठेघर’ हो। त्यसपछि ‘वीर्य जमिन’ र ‘चेकेदम राजाको दरबार’ जस्ता कृतिमार्फत उनले साहित्यिक यात्रालाई थप सशक्त बनाउँदै आएको छ।
चौथो कृतिका रूपमा प्रकाशित ‘नाइटमेयर’ अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह हो। यस सङ्ग्रहमा चाम्लिङका आफ्नै १६ कविता समावेश छन् भने विभिन्न २७ जना नेपाली कविहरूका एक–एक कविता अङ्ग्रेजीमा अनुवाद गरी कुल ४३ कविता समेटिएका छन्। नेपाली कवितालाई अन्तर्राष्ट्रिय पाठकमाझ पुर्याउने उद्देश्यसहित तयार गरिएको यो कृति शनिबार सार्वजनिक गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि हर्कमान तामाङले विश्वस्तरीय साहित्यकारका कृतिहरूको अध्ययन आवश्यक रहेको उल्लेख गर्दै नेपाली साहित्यलाई पनि अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए। उनले चाम्लिङको अनुवादकर्म र साहित्यिक प्रयत्नको प्रशंसा गरे।
समिक्षक डा. मोहन तुम्बाहाङले साहित्यिक अनुवाद सहज कार्य नभएको उल्लेख गर्दै चाम्लिङले देखाएको तत्परता, मेहनत र साहस स्रष्टाहरूका लागि प्रेरणादायी रहेको बताए। उनले भाषिक, शाब्दिक तथा शास्त्रीय पक्षमा थप सचेत हुनुपर्ने सुझावसहित सङ्ग्रहभित्रका कवितामाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरे।
कृतिकार तथा अनुवादक बादल चाम्लिङले अनुवाद कार्य चुनौतीपूर्ण भए पनि नेपाली कवितालाई अङ्ग्रेजी भाषाका पाठकमाझ पुर्याउने उद्देश्यले आफूले यो प्रयास गरेको बताए।
कृतिकारको परिचय प्रस्तुत गर्दै साहित्यकार ईरान राईले भाषा–शिक्षकहरूले केवल सैद्धान्तिक चर्चा मात्र नभई सिर्जनात्मक कार्यमार्फत पनि उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखे। उनले अनुवाद साहित्यको महत्वमाथि विशेष प्रकाश पारे।
आयोजक संस्था बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले स्थानीय स्तरमा सिर्जना भएका साहित्यिक कृतिहरू पनि उच्चस्तरीय र उत्कृष्ट हुन सक्ने उदाहरणका रूपमा कवि चाम्लिङलाई प्रस्तुत गरे। उनले ‘नाइटमेयर’ ग्रामीण परिवेशको सशक्त प्रतिनिधित्व गर्ने गर्विलो कृति भएको धारणा व्यक्त गरे।
कार्यक्रममा साहित्यकार, शैक्षिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू चन्द्रमणि राई, छवि वैरागी घिमिरे, परशुराम सुवेदी, छत्र लिम्बु, शङ्कर गुरुङ, भगवती प्रसाद घिमिरे, तिला लेकाली, देवान किराँती, प्रकाश दिप्साली, धनजित पराजुली, गगन याक्पाङ्देन, केपी घिमिरे, प्रकाश भट्टराई, हिरा खड्का, सञ्जीव धिमाल, अर्जुन कुलुङ, शिव छाङ्छा, गोविन्द चोङ्वाङ, शिव पराजुली, दुर्गा चम्लागाईं, अजित धिमाललगायतको उपस्थिति रहेको थियो।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जेबी थुलुङले गरेका थिए।




















