धरान। सुनसरीको धरान उपमहानगरपालिका–५ झरना चोकमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ। घटनामा घाइते भएका युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइसियुमा उपचार भइरहेको छ। घटनामा संलग्न चार जना फरार रहेका छन्।
प्रहरीका अनुसार शनिबार साँझ करिब ७ः३० बजे स्थानीय २० वर्षीय नीलकमल राईमाथि एक समूहले ढाडमा धारिलो हतियार प्रहार गरेको थियो। आक्रमणपछि उनी गम्भीर घाइते भएका थिए।
घटनापछि स्थानीयवासीको सहयोगमा राईलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। अस्पताल स्रोतका अनुसार उनको आइसियुमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको छ।
प्रहरीले घटनामा धरान–५ का २३ वर्षीय ‘जोनसेना’ (यकिन परिचय खुल्न बाँकी), १९ वर्षीय सुमन लिम्बू, १७ वर्षीय हनक राई तथा दशघरेका २३ वर्षीय किरण राईको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। चारै जना घटनापछि फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।




















