धनकुटा।धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित एक स्थानबाट जिल्ला प्रहरी कार्यालय धनकुटाले ८०४ किलोग्राम गाँजा बरामद गरेको छ। प्रहरीले प्लास्टिकका ४८ वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको जनाएको छ।
गाँजा बरामदसँगै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका–४ घर भई चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरि प्रसाद ओझा तथा चौबिसे गाउँपालिका–४ निवासी ३४ वर्षीय आशिष विश्वकर्मा रहेका छन्।
प्रहरीका अनुसार बरामद गरिएको गाँजा र पक्राउ परेका दुवै व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी अन्य विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।




















