विराटनगर।अवैध हुन्डी कारोबार तथा ठूलो परिमाणमा नगद लुकाएर राखिएको हुन सक्ने विशेष सूचनाका आधारमा नेपाल प्रहरीले विराटनगरस्थित देवनरा (मुन्दडा) समूहका सञ्चालक प्रकाश मुन्दडाको निवासमा सोमबार बिहान व्यापक खानतलासी गरेको छ। करिब चार घण्टाभन्दा बढी समय सञ्चालन गरिएको प्रहरी अप्रेसनमा कुनै पनि अवैध सामग्री फेला नपरेपछि प्रहरी टोली फर्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङको नेतृत्वमा सञ्चालन गरिएको अप्रेसन बिहान करिब ४ः४५ बजे सुरु भएको थियो। विराटनगर महानगरपालिका–७, पण्डित मेघराज शर्मा मार्गस्थित मुन्दडा निवास तथा त्यससँग सम्बन्धित सम्पूर्ण परिसरमा प्रहरीले विस्तृत खोजतलास गरेको थियो। अप्रेसन बिहान करिब ९ः३० बजे सम्पन्न भएको थियो 

खानतलासीका क्रममा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले मुन्दडा निवास वरपर कडा सुरक्षा व्यवस्था मिलाएको थियो। गोल्छाचोकदेखि जिल्ला प्रशासन कार्यालय चोकसम्मको सडक केही समयका लागि आवतजावतमा रोक लगाइएको थियो भने सर्वसाधारणको आवागमनसमेत सीमित गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालले विशेष सूचनाका आधारमा कानुनी प्रक्रिया पूरा गर्दै खानतलासी गरिएको बताए। उनका अनुसार अनुसन्धानका क्रममा घर र परिसरका सबै सम्भावित स्थानमा खोजतलास गरिए पनि सूचनाअनुसारको कुनै अवैध सामग्री फेला परेन।

‘हामीलाई अवैध सामान रहेको भन्ने सूचना प्राप्त भएको थियो। सोही आधारमा कानुनी प्रक्रिया पूरा गरेर खानतलासी गरेका हौं,’ एसपी कटवालले भने, ‘यदि अवैध सामग्री भेटिएको भए बरामद गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइन्थ्यो। तर प्राप्त सूचनाअनुसार केही पनि फेला परेन, त्यसैले प्रहरी टोली फर्किएको हौं ।

देवनरा समूहका सञ्चालक वेनीगोपाल मुन्दडाले प्रहरीले घरका सबै कोठा, दराज तथा अन्य संरचनाको विस्तृत निरीक्षण गरेको जानकारी दिए। उनका अनुसार खोजतलासपछि कुनै पनि शंकास्पद वस्तु नभेटिएकाले प्रहरी टोली थप कारबाहीबिनै फर्किएको हो।

नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका वरिष्ठ उपाध्यक्षसमेत रहेका प्रकाश मुन्दडाले राज्यका अनुसन्धान निकायलाई सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व भएको प्रतिक्रिया दिए। उनले आफूहरूले प्रहरी अनुसन्धानलाई सामान्य रूपमा लिएको उल्लेख गर्दै प्राप्त सूचना गलत भएको हुन सक्ने बताएका छन्।

‘राज्यका निकायले अनुसन्धान गर्नु आफ्नो जिम्मेवारी हो। हामीले पूर्ण सहयोग गरेका छौं,’ उनले भने, ‘कसैले दिएको गलत सूचनाका आधारमा अनुसन्धान भएको देखिन्छ। केही पनि नभेटिएपछि प्रहरी टोली फर्किएको छ।’

प्रहरी स्रोतका अनुसार प्रारम्भिक सूचनामा अनौपचारिक हुन्डी कारोबार तथा ठूलो परिमाणमा नगद राखिएको आशंका व्यक्त गरिएको थियो। सोही सूचनाको सत्यतथ्य पुष्टि गर्न खोजतलासी गरिएको भए पनि त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको प्रारम्भिक निष्कर्ष छ। प्रहरीले भने अनुसन्धानका सम्बन्धमा थप विवरण सार्वजनिक गरेको छैन।