सिन्धुली।सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान करिब ११ः४५ बजे बस र कार एकआपसमा ठोक्किँदा कार सुनकोशी नदीमा खसेको छ।

प्रहरीका अनुसार काठमाडौंबाट ओखलढुंगा तर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङतर्फबाट खुर्कोट आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुल्कोट, मध्यपहाडी लोकमार्गअन्तर्गत प्रयोगमा रहेको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। कार चालक सिन्धुपाल्चोकका अन्दाजी ३९ वर्षीय दिलकुमार लामा, स्काभेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिका–१ निवासी धुर्व थापाका छोरा अन्दाजी २७/२८ वर्षीय गणेश थापा तथा नाम, थर र वतन नखुलेका एक जना हेल्पर नदीमा बेपत्ता भएका छन्।

घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। बस तथा बस चालक सिन्धुली फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखिएको छ।

बेपत्ता व्यक्तिहरू तथा कारको खोजतलास र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।