बाजुरा।बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–७ धम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। एक जना बिरामी परेका छन्।

स्थानीय ५१ वर्षीय रामे थापा र उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापाले विषालु जंगली च्याउ खाएपछि स्वास्थ्यमा समस्या देखिएको थियो। उनीहरूलाई उपचारका लागि राति १०:२० बजे जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो।

अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका थिए। गम्भीर अवस्थामा रहेकी नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको जनाइएको छ।

घटनापछि सम्बन्धित निकायले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। विषालु जंगली च्याउ सेवनका कारण घटना भएको प्रारम्भिक निष्कर्ष रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।